स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी — OSNepal

स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

LC (KTM) April 25, 2024 0

लेखनाथ (कास्की)-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न उहाँले आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार समाल्दै आउनुभएका मुख्यमन्त्री अधिकारीको स्वागतमा मन्त्रालयद्वारा   यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीले सीमित स्रोत र साधनभित्र रहेर पनि आफ्नो सेवा प्रवाह प्रभावकारी रुपमा फैलाउनसपर्नेमा जोड दिनुभयो ।

“सामान्य उपचारले पनि बिरामीको ज्यान बचाउन सकिन्छ, त्यसैले स्वास्थ्यकर्मीको जिम्मेवारी र महत्व समाजका लागि अतिआवश्यक छ । स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मी आफ्नो व्यक्तिगत सेवा र सुविधाका लागि दौडनेभन्दा पनि जनताको स्वास्थ्य सेवक भएर अगाडि बढ्न जरुरी छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

नेपालका दुर्गम गाउँमा अझै पनि स्वास्थ्य सेवा र औषधी नपाएर बिरामीको अकालमै मृत्यु हुने गरेको स्मरण गराउँदै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मीले जनतामाझ स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले मन्त्रालयद्वारा गण्डकी प्रदेशमा भएका उपलब्धि, समस्या र चुनौतीबारे मुख्यमन्त्री अधिकारीलाई जानकारी गराउनुभएको थियो । निःशुल्क प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर