अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अस्पतालले जानकारी गराए — OSNepal

अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अस्पतालले जानकारी गराए

LC (KTM) May 17, 2021 0

वाग्मती, ३ जेठ – मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हँुदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।

अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिनुभयो ।

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका छन् । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।

बिरामी उपचार गर्न नसकिने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिन्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटाँैडामा खपत हुने आवश्यकताअनुसार अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर