कसले हेर्ने हाम्रो पीडा ? — OSNepal

कसले हेर्ने हाम्रो पीडा ?

LC (KTM) August 24, 2021 0

अर्घाखाँची, ८ भदौ-गत वर्ष पहिरो जाँदा शितगंगा नगरपालिकाका ११ र १२ का दुईवटा गाउँनै भासिएपछि एक सय सात घरधुरीमध्ये २७ घर परिवारको पूर्णरुपमा क्षति भएर घरबारविहीन बन्न पुगे पनि राज्यबाट उचित व्यवस्थापन हुन सकेको छैन । शितगंगा नगरपालिका–११ को ढुगेसरा गाउँका जनता यतिबेला निकै त्रासमा छन् । गत वर्ष नै गाउँमाथिबाट पहिरो खसेपछि उनीहरुको बिचल्ली भएको हो ।

गत वर्षको पहिरोमा नौ घर पूर्णरुपमा क्षति भएको थियो भने दर्जनौँ घरहरुमा सामान्य क्षति भयो र धेरै घर जोखिममा परे । सरकारी अधिकारीदेखि जनप्रतिनिधिहरु पहिरोबाट भएको क्षति हेर्न त्यहाँ पुगे । वडा अध्यक्ष, मेयर, प्रदेश सांसददेखि मन्त्रीहरु पुगेर पीडितहरुलाई आश्वासन पनि दिए । तर, उनीहरुको समस्या समाधानमा कसैले गम्भीर भएर चासो दिएनन् ।

तत्कालीन समयमै भूगर्भविदसहितका प्राविधिक टोलीले वडा नम्बर १२ को जोख्ले गैरा र ११ को ढुगेसरा जोखिम क्षेत्र भन्दै बसोबासका लागि योग्य नभएको बताएका थिए । केही समय आफन्तकोमा बसेका पीडितहरु पछि सोही गाउँमा फर्किए । अहिले पनि माथिबाट जमिन भासिन थालेको वडा नम्बर ११ का वडा सदस्य गणेश पुलामीले बताए ।

गाउँको सिरानमा गत वर्ष जस्तै बिस्तारै जमिन भासिन थालेकोले झनै जोखिम बढेको पुलामीले बताए । गत वर्ष वडा नम्बर ११ र १२ का २७ घर पहिरोले बगायो भने एक सय नौ घरहरु जोखिममा परे पनि उनीहरुको बस्ती व्यवस्थापनमा सरकार एक वर्षदेखि उदासिन हुँदा जोख्ले गैराका अधिकांस कपिलवस्तुका विभिन्न स्थानमा गएर बसेका छन् ।

घरबारविहीन भएका पीडितहरुलाई पूर्वमन्त्री टोपबहादुर रायमाझीले अस्थायी टेन्ट वितरण गरेर फर्किए । तर, वन कार्यालयले टेन्ट जफत गरेर उनीहरुलाई त्यहाँबाट लखेटेपछि कुनै नेताहरु फर्केर त्यहाँ नपुगेको स्थानीयहरुको गुनासो छ ।

गत वर्ष बचेका घरहरु अहिले जोखिममा पर्न थालेका छन् । पहिरो फेरि जान सुरु गरेपछि वडा नम्बर ११ ढुंगेसराका सात घर अहिले जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय ठाडाकाअनुसार अहिलेको पहिरोले तीन घर पहिरोबाट बिस्तापित बनेका छन् भने चार घर र प्राथमिक स्वास्थ चौकी पहिरोको जोखिममा छन ।

शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले विभिन्न स्थानमा एकीकृत बस्तीका लागि पीडितहरुलाइ अनुरोध गरे पनि सबै एकमत भएर जान नमानेपछि स्थानीय तहलाई जग्गा व्यवस्थापनमा समस्या भएको बताए । नगरपालिका क्षेत्रमा खुला, सरकारी जग्गा नै नभएकोले व्यवस्थापन गर्न समस्या भएको नगर प्रमुख अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर