विद्यालय अनलाइन कक्षा चलाउने, विद्यार्थी गाईवस्तु चराउने — OSNepal

विद्यालय अनलाइन कक्षा चलाउने, विद्यार्थी गाईवस्तु चराउने

LC (KTM) August 25, 2021 0

जाजरकोट-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएका लकडाउन र निषेधाज्ञाका कारण डेढ वर्षदेखि शिक्षण संस्था बन्द छन् । बन्दाबन्दीकै अवस्थामा मुलुकभरका अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

तर, विद्यालय बन्दसँगै दुर्गममा अध्ययनरत विद्यार्थीको पाठ्यपुस्तक झोलाभित्र बन्द छन् । विद्यार्थी र पाठ्यपुस्तकबीच भेटघाट कहिले हुन्छ, अझै अत्तोपत्तो छैन । आवश्यक प्रविधि नहुँदा विद्यार्थी घरायसी काममा व्यस्त हुनुपर्दा पाठ्यपुस्तकसँग भेट नभएको हो ।

बारेकोट गाउँपालिका–५ की काली सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालोको रुपमा दिन कटाइरहेकी छन् । उनलाइ पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालोको जिन्दगीबाट मुक्ति पाउन नसकेको उनी बताउँछिन् । घरका अभिभावक जंगलमा पाइने विभिन्न जडीबुटी संकलन गर्न व्यस्त छन् । भाइबहिनीलाई दैनिक खाना, पशुचौपायको स्याहारदेखि गोठको सुरक्षासम्मको कामले उनको दिन बितिरहेको छ ।

अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडास्थित घरमा पठाएर आवश्यक खाद्यान्न ढुनानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भनिन्, ‘किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताव हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । विद्यालयले पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।’

उनी जस्तै जुनकुमारी सिंह पनि चौथारी लेकमा छिन् । उनलाई गोठको सुरक्षादेखि पशुचौपायाकै चिन्ता छ । विद्यालय सञ्चालन भए, नभएकाबारेमा जानकारीसम्म उनलाई थाहा छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले बारेकोटको बाटो हुँदै जुम्ला जाने सर्वसाधारण उनको गोठमा बास बस्ने गर्छन् । उनीहरुले दिएको जानकारी नै जुनकुमारीको लागि नयाँ सन्देश हुन्छ ।

दैनिक बर्खेझरी, जुकाको टोकाइ, गाईभैंसी, घोडाको हेरालोको कामले गर्दा अरु कुरा सोच्न जुनकुमारीलाई फुर्सद नै छैन । १४ वर्षकी उनको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ ।

पाटन क्षेत्रमा भारी मात्रामा फूलेका फूलहरु रम्दै, जंगलबाट संकलन ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउँ खाँदै जुन कुमारीको भविष्य कत्ता जाँदैछ, उनलाई नै पत्तो छैन ।

उनकै उमेरका विद्यार्थीहरु दैनिक, इन्टरनेटको माध्यममार्फत दैनिक अध्ययनमा छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् । तर, पाटन क्षेत्रमा रहेका विद्यार्थीहरु कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायाको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ ।

आर्थिक अवस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थीहरु चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखहादुर सिंहले बताए । सिंह आफैँ पनि इन्टरनेट चलाउने मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सा पुग्नुपर्ने बाध्यता छ । बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाइ नै थाहा हुँदैन ।
त्यस्तै, डोल्पाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा छ ।

अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणमा मजदुरका रुपमा विद्यार्थीहरु काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका श्यामबहादुर पहाडीले बताए ।

‘विद्यालय बन्द छन्, शिक्षकहरु कहाँ हुनुहुन्छ थाहा छैन’, उनले भने । आर्थिक रुपमा सवल भएको परिवारका विद्यार्थीहरु सहरमा गएर शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीहरुको शिक्षा अवस्था भने खस्किँदै गएको छ ।

कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन सुरु गरे पनि विद्यार्थीलाई लगाएको छैन । ‘शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् ? रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर