हजारौँ पर्यटक हिँड्ने बाटो हुँदै बग्छ कुलोकाे पानी — OSNepal

हजारौँ पर्यटक हिँड्ने बाटो हुँदै बग्छ कुलोकाे पानी

LC (KTM) August 25, 2021 0

भक्तपुर, ९ भदौ- झ्वाटै हेर्दा खोला जस्तै, झन् पानी परेपछि त बाढी नै बग्छ । त्यसमाथि मोटरसाइकलगायत सवारी साधनको ओहोरदोहोर उस्तै । कुनै डराइडराई त्यो तर्न खोज्छन् त कोही तर्न नै डर मान्छन् ।

यो दृश्य भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा रहेको भत्केपाटी, चरेली कलमसी हुँदै नगरकोट जाने सडकखण्डको हो । उक्त सडकखण्ड पालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । सोही सडकखण्ड हुँदै दैनिक सयौँ पर्यटक नगरकोट भ्रमणमा निस्कन्छन् ।

मुलुककै राजधानीसँग जोडिएको जिल्ला हो, भक्तपुर । नामैले सांस्कृतिक र कलात्मकरुपमा सम्पन्न भएको जिल्ला भौतिकपूर्वाधारमा पनि चिल्ला र व्यवस्थित सडक हुनु पर्ने हो । तर, विडम्बना नालाको उचित व्यवस्थापन नभएकोले पानी पनि बाटोबाटै बग्छ ।

‘सधैँ यही बाटो भएर ओहोरदोहोर गर्नुपर्छ । तर, बाटोको यस्तो हालत छ । बाटो देखेर कार्यालय जान पनि मन लाग्दैन, नगई पनि हुँदैन’, स्थानीय रमिला श्रेष्ठले गुनासो गरिन् ।

यही सडकखण्ड भएर दैनिक हजारौँ मानिसको ओहोरदोहोर हुन्छ । यसरी हिँड्नेमा जनप्रतिनिधिदेखि सरकारी अधिकारीसम्म हुन्छन् । तर, दूरावस्था सडकप्रति उनीहरुको ध्यान गएको देखिँदैन ।

बाटोमा निरन्तर पानी बगिरहन्छ । खरिपाटी वरिपरी खेतको पानी सोही कुलोबाट बग्छ । तर, ढल भने खोलेको छैन । पानीले बाटोसमेत बिग्रिएको स्थानीयको गुनासो छ ।

पानी पर्न थालेपछि बाटोमा पानीको बहाव पनि बढ्ने स्थानीय विवेक श्रेष्ठले बताए । ‘त्यहाँबाट पार गरेर आउजाउ गर्न निकै कठिन हुन्छ । अस्ति त एक जना दाइ लड्नु भयो’, उनले थपे ।

दैनिक सो बाटो भएर मोटरसाइकल, कार, बसलगायतका सवारी साधान आउजाउ गर्छन् । तर, पनि नगरपालिकाले यसको लागि कुनै पहल नगरको आरोप स्थानीयले लगाएका छन् । केही त दैनिक आउनेजाने गरेर बानी बसाई सकेका छन् । तर कहिलेकाही नयाँ मान्छे आउँछन् । कोही त फर्केर जान्छन । कोही डराईडराई कुलो तर्ने स्थानीय श्याम थापाले बताए ।

उता नगरपालिकाले सो क्षेत्रमा ढल निकासा गर्न खोजे पनि स्थानीयको विरोधले बन्न नसकेको उल्लेख गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले पालिकाको आन्तरिक स्रोतबाट हिम पाइप बिछ्याउन गएको तर स्थानीयले फिर्ता पठाएको बताए ।

बाटो वरिपरिका खेत धनीहरुले सो क्षेत्रमा पाइप बिछ्याउन नदिएको वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले जानकारी दिए । ‘स्थानीयको गुनासो आएपछि सो क्षेत्रमा हिमपाइपसहित पानी निकासाको लागि पठाएका थियौँ । तर, खोलासम्मै पाइप बिछ्याउनु पर्ने खेतवालाको माग छ । त्यसको लागि हामीसँग बजेट छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर