सम्पत्ति हडप्न खोजेको भन्दै 'बाबा'लाई कुटीमा प्रवेश निषेध — OSNepal

सम्पत्ति हडप्न खोजेको भन्दै ‘बाबा’लाई कुटीमा प्रवेश निषेध

LC (KTM) September 09, 2021 0

सिरहा, २४ भदौ -सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया कुटीका बाबा (महन्थ) लक्ष्मीनारायण यादवलाई स्थानीयले निषेध गरेका छन् । कुटीको सम्पत्ति हडप्न खोजेको, कुटीमा बस्दै आएकी ७० वर्षीया सन्यासी माईरामनीको हत्या गरेको भन्दै स्थानीयले बाबालाई अब कुट्टीमा बस्न नदिने अडान राखेका हुन् ।

कुटीमा बस्दै आएकी सन्यासी माईरामनी एक महिनाअघि पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयले भने बाबाले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् । महिला सन्यासी मृत घटनापछि आक्रोशित स्थानीयले बाबालाई कुटी प्रवेशमा रोक लगाएका हुन् ।

घटनापछि प्रहरीले बाबालाई नियन्त्रणमा लिएको थियो । आत्महत्या भएकोले उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा तारिखमा छोडेको छ । बाबालाई प्रहरीले छोडे पनि स्थानीयले कुटीमा प्रवेश दिएका छैनन् ।

बाबालाई कुटीमा स्थापित गराउने विषयमा मंगलबार प्रहरी, स्थानीय र बाबा पक्षबीच वार्ता गर्न बाबाजी कुटीमा आए पनि स्थानीयले बस्न दिएनन् । कुटीमा बसेर छलफल गर्ने अवस्था नभएपछि प्रहरीले घेरा हालेर बाबालाई गाउँबाट निकालेको थियो ।

बाबालाई निकाल्ने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुर ग्यास र प्लाष्टिकका गोली प्रहार गरेको कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले जानकारी दिइन् । झडपको क्रममा दुई प्रहरी र दुई स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

कर्जन्हाका मेयर गंगा पासवानले बाबाको विषयमा कर्जन्हा नगरपालिकामा छानविनको लागि निवेदन परेको बताए । उनले भने, ‘बाबाको विषयमा नगरपालिकाको न्याय समितिमा निवेदन परेको छ, त्यहाँको छलफलले के गर्छ त्यहीँ अनुसार अगाडि बढ्छौं ।’

यता बाबा लक्ष्मीनारायणले आफ्ना गुरु महन्थ हरि दासले आफ्नो नाममा रहेको ६ विघा १० कठ्ठा जमिन आफ्नो नाममा गरेको बताए । सोही जमिनमध्ये केही जमिन मन्दिर बनाउँदा परेको ऋण तिर्नलाई बेच्न खोज्दा वडाध्यक्ष मोहन शाहीले भाग खोजेको आरोप लगाए । जमिन बेच्न सिफारिस लिन जाँदा वडाध्यक्षले केही जमिन वडालाई पनि दिनुपर्ने शर्त राखेको बाबाको भनाइ छ ।

यता वडाध्यक्ष शाहीले कुटीको जमिन भएकोले स्थानीय गाउले र स्थानीय सरकारको मन्जुरी बेगर चलाउन नपाउने बताए । स्थानीयले भने बाबाले घरपरिवार र आफन्तलाई राखेर कुटीलाई निजी ढङ्गले प्रयोग गरेर हडप्न खोजिरहेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर