महोत्तरीमा कोरोनाबाट ८६ वर्षीय पुरुषको मृत्यु भएपछि महिला सैनिकले गरे हिन्दू परम्परानुसार शव व्यवस्थापन — OSNepal

महोत्तरीमा कोरोनाबाट ८६ वर्षीय पुरुषको मृत्यु भएपछि महिला सैनिकले गरे हिन्दू परम्परानुसार शव व्यवस्थापन

LC (KTM) May 21, 2021 0

महोत्तरी, जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भयो । होम आइसोलेशनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय, प्रहरी र सेनालाई खबर गरे । सो शव व्यवस्थापनमा नेपाली सेनाका महिला सैनिक खटिए ।

जिल्ला प्रशासन कार्यालयका अनुरोधमा जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणबाट महिला सैनिक टोलीले मलिवारास्थित रातो नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति प्रमुख सेनानी शिवहरि केसीले बताउनुभयो ।

महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएकामा अब महिला सैनिक पनि खटिन थालेका हुन् । रणभीम गणले पहिलो पटक सहसेनानी आरती राना मगरका नेतृत्वमा पाँच महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।

मृत्यु हुनेको संख्या बढेपछि महिला सैनिक टोलीलाई यो काम गर्न भ्याइनभ्याइ छ । होम आइसोलेशनमा मृत्यु भएकाहरूको प्लाष्टिक वा डेथ बडी ब्यागमा बेर्ने गर्ने काम उनीहरुले गर्छन् । जोखिमपूर्ण मानिएको सो काममा उनीहरु आफैंँ खटिने मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालीम पनि दिन्छन् ।

महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ । प्रमुख सेनानी केसीले पुरुष, महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर