नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा सङ्कटमा — OSNepal

नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा सङ्कटमा

LC (KTM) October 06, 2021 0

भक्तपुर- भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा परेको छ । आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा सङ्कटमा परेको हो । नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न हुनुहुन्छ । उहाँको परिवारका सदस्यसमेत यो पेशाबाट विमुख हुँदै गएका छन् । पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने, यसको जवाफ कसैसँग छैन ।

प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाचसमेत बन्द हुन्छ । भक्तपुरको सबैभन्दा महत्वपूर्ण नाचको रुपमा रहेको नवदुर्गा नाचको मुकुण्डो बनाउन नयाँ कालिगढ तयार गर्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । नवदुर्गा देवगणको १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्दछ । घण्टाकर्ण चतुर्दशीका दिन मुकुण्डो बनाउने कार्यको शुभारम्भ हुन्छ । मुकुण्डो बडादसैँको महानवमीका दिन प्रदर्शन गर्न तयारी अवस्थामा राख्नुपर्दछ । तर यो वर्ष देवगणहरूका नकीं विवादले दुई हप्तापछि मात्र मुकुण्डो बनाउने कार्य थालेको हो ।

मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ्ग, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायत सामग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउनुहुन्छ ।

मुकुण्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ । अनिमात्र मकुण्डो बनाउने कार्य सुरु हुने चित्रकारले बताउनुभयो । “मुकुण्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ । एउटा मुकुण्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ”, उहाँले भन्नुभयो ।

मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुण्डो बनाउनलाई माटोको पूजा गर्नुपर्दछ । यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले बर्सेनि मुकुण्डो बनाउनका लागि उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गर्नुभएको छ । मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भए मात्र नयाँ पुस्ता तयार हुनसक्ने उहाँले बताउनुभयो ।

मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा बर्सेनि रु तीन लाख खर्च हुने गरेको उहाँले बताउनुभयो । मुकुण्डो बनाउन दुई वर्ष अघिदेखि नियमित रुपमा गुठी संस्थानले रु ४० हजार, भक्तपुर नगरपालिकाबाट रु एक लाख १६ हजार र बनेपा नगरपालिकाबाट रु १२ हजार दिने गरेको उहाँले बताउनुभयो । “अन्य आय स्रोत केही छैन । अरु सहयोग दातासँग मागे मात्र हो । उहाँले भन्नुभयो, “आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दवाब दिने गरेको छ । आम्दानीभन्दा खर्च बढी ।”

उहाँले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटकपटक गुनासो लिएर गए पनि हुन्छहुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ । कति ताकेता गर्नु ? आश्वासन बाहेक केही पाइएन ।”

गुठी संस्थान भक्तपुरका आन्नद कर्माचार्यले मुकुण्डोको बनाउन बर्सेनि रु ४० हजार दिँदै आएको जानकारी दिनुभयो । रकम अपुग भएको स्वीकार गर्दै गर्नुभयो प्रमुख आचार्यले भन्नुभयो, “गुठीबाट दिइरहको रकम अलि अपुग होला तर उहाँले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन । यो नै पहिलो भने बढाएको दिएको हो । उहाँको मागलाई केन्द्रमा पठाएको छु गुठीले बेवास्ता गरेको छैन । उहाँको माग पूरै पूरा नहोला तर केही सम्बोधन भएर आउन सक्छ ।”

विसं. २०२० देखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आउनुभएका चित्रकार अहिले ७५ औँ बसन्त पार गर्ने तरखरमा छन् । उहाँले धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुण्डो बनाउन नछोडेको स्पष्ट पार्नुभयो । उहाँको उमेरले समेत साथ छोड्दै ल्याएकाले आफूपछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो । सम्बन्धित निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफूसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उहाँले बताउनुभयो । नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी कसले बनाउँछ ? यो पेशालाई कसले निरन्तरता दिन्छ ? उहाँको प्रश्न छ । उहाँले भन्नुभयो, “अरुको त के कुरा गर्ने मेरा छोराहरूले नै यस कार्यलाई निरन्तरता नदिने भन्छन् । यसको निरन्तरताका लागि सम्बन्धित निकायले आवश्यक आर्थिक सहयोग गर्ने भए यो कार्यलाई निरन्तरता दिन सकिन्छ नत्र सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर