सानोठिमीस्थित बाल सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा — OSNepal

सानोठिमीस्थित बाल सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

LC (KTM) August 21, 2023 0

भक्तपुर, ४ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् ।प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बाल सुधार गृहमा रहेका ४३ जना केटी र दुई सय ५६ जना केटा गरी दुई सय ९९ बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट गरी हाल एक सय ९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उहाँले जानकारी दनुभयो । सम्पर्कमा आएका पनि रातभरिसम्ममा नियन्त्रणमा आउने दाबी गर्नुभयो ।

बाल सुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधार गृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधार गृहभित्रै बसेका उहाँले जानकारी दिनुभयो । बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको उहाँले जानकारी दिनुभयो । गोली लागेर दुई बन्दी घाइते भएका छन् ।

गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहलगायत नजिकैको यूसेप कार्यालयमासमेत तोडफोड गरेका छन् । तोडफोडबाट कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको युसेपका कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।

सुधार गृहबाट बाहिर निस्कने क्रममा बन्दीले लाठी, भाला, खुकुरी, चक्कुलगायतका घरेलु हतियार लिएर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रजिअ खरेलले जानकारी दिनुभयो । सुधार गृहभित्र औषधि, खाना, पानीलगायत विभिन्न कुरामा दैनिक विभेद हुने गरेको भन्दै बाल बन्दीहरु आक्रोसित बनेको एक बालबन्दीले बताए ।

यसरी भयो आजको घटना

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ रिजालको अध्यक्षतामा आइतबार मृतक परिवारसँग बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने, जम्मेवारी तोकेको थियो । मृतकका परिवारको माग बमोजिम नै घटनाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने, त्यसको रिपोर्ट हेर्ने, क्षतिपूर्तिको लागि माथिल्लो निकायमा लेखि पठाउने र आज घटनाका बारेमा प्रहरीमा जाहेरी दिनेसहित भएको थियो ।

मृतक परिवारसँग भएको सहमतिअनुसार आज जाहेरी लिन प्रहरी तयारीमा बसेको थियो । आजको घटनाबारे जानकारी दिँदै प्रजिअ रिजालले मध्याह्नसम्म पनि मृतक परिवार जाहेरी दिन नआएपछि सहायक प्रमुख जिल्ला अधिकारीले मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गरेको बताउनुभयो ।

प्रहरी र प्रशासनलाई जाहेरी दिन आउँछौँ भन्दै गरेका मृतकका आफन्त अचानक आज मध्याह्नपछि बाल सुधार गृह गएर नाराबाजी गर्दै सुधार गृहभित्रै प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस लगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै गृहको भान्छामा रहेको खुकुरी, चक्कु, लाठी, भाला लगायतका हतियार लिएर निस्केर बाहिर सुरक्षार्थ खटिएका प्रहरीमाथि जाइलागे । एकैपटक एक सयभन्दा बढी बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए । सानोठिमीका प्रत्यक्षदर्शीका अनुसार हातमा घरेलु हतियार लिएर बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए ।

उनीहरुले प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति अनियन्त्रित भएपछि प्रहरीले तीन राउण्ड गोली चलाएको र दुई बन्दी घाइते भएकोमा वीर अस्पतालमा उपचार भइरहेका एकको अवस्था गम्भीर रहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । बन्दीले समूहमै नाराबाजी गर्दै पैदलै काठमाडौँ गएका थिए, कोही त्यतैबाट भागेका थिए । युसेपका अनुसार कोही बन्दी भने फर्किएर सुधार गृहमै आएका छन् ।

आजको घटनामा मृतक बस्नेतका आफन्तको लापरबाही, सहमति विपरितको कदम भएकाले उनीहरुमाथि थप छानबिन गरी दोषी हठरिए उनीहरुलाई कारबाही हुने भएको छ । बन्दीलाई भड्काउने, उस्काउनेलाई कारबाही गर्न बन्दीका आफन्तबाटै माग भएको बताइएको छ ।

यसरी भएको थियो घटनाको सुरु

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा जबरजस्ती करणी अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएको रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि बाल सुधार गृह तनावग्रस्त बनेको थियो । शनिबारदेखिनै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राति सिटामोल खाएर सुते पनि बिहान बिहोस पाइएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो ।

बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि हिजो पनि सुधार गृहको स्थिति तनावग्रस्त भएको थियो । मृतकका अफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो । सुधार गृहले परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण प्रष्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको सहमति हिजो साँझ घटनाले सहज रुप लिए पनि आज दिउँसो सहमति विपरित मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि अवस्था नियन्त्रण बाहिर आएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर