राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै — OSNepal

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

LC (KTM) January 24, 2024 0

काठमाडौँ, १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ ।

गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैंकबाट हुने गरेको दाबी बैंकको छ । सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।

सरकारको राजस्व सङ्कलन प्रयोजनका लागि बैंकले विभिन्न ठाउँमा शाखा तथा काउन्टरसमेत विस्तार गरेको छ । सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट निवृत एक लाख ६० हजार भन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी पनि राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।

त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो । बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरुप चालु आवभित्रमा शाखा सङ्ख्या तीन सय २० पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर