गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण — OSNepal

गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण

LC (KTM) February 18, 2022 0

नवलपुर, ६ फागुन -नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुङ्गे पुल र कल्भर्ट निर्माण गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसङ्ख्यालाई सफा खानेपानीको व्यवस्था गरिएको छ ।

नगरपालिका भित्र १३ आधारभूत स्वास्थ्य भवन निर्माण, वडा कार्यालय र विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको पौडेलले बताउनुभयो । दुई रङ्गशाला निर्माणका चरणमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला दुई आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ । नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालन छन् । नगरभित्रका ६० वर्षमाथिका दुई हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपाङ्गता परिचयपत्र वितरणका साथै ५०० अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर