दुई प्रदेश जोड्ने पक्की पुल निर्माण तीव्र गतिमा — OSNepal

दुई प्रदेश जोड्ने पक्की पुल निर्माण तीव्र गतिमा

LC (KTM) February 24, 2022 0

दमौली, १२ फागुन – गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्यले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो । कोरोना कहरका कारण विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । विसं २०७७ जेठदेखि निर्माण सुरु भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म रहेको छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ ।

“कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ”, उहाँले भन्नुभयो । सिग्देलका अनुसार हालसम्म दुई वटा पिल्लरको क्याप बनेको र दुई वटा फाउण्डेसन सकिएको छ । “नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ”, उहाँले भन्नुभयो ।
दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ ।

डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण भइरहेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरुपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीयवासी लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर