म्याग्दीमा गरिएको निःशुल्क मुटुरोग शिविरबाट एक हजार ५०० लाभान्वित — OSNepal

म्याग्दीमा गरिएको निःशुल्क मुटुरोग शिविरबाट एक हजार ५०० लाभान्वित

LC (KTM) May 01, 2022 0

म्याग्दी- म्याग्दीको बेनीमा ज सम्पन्न निःशुल्क मुटुरोग उपचार शिविरबाट एक हजार ५०० जना लाभान्वित भएका छन् । काठमाडौँको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो ।

शिविरका संयोजक हरिकृष्ण गौतमले शिविरमा म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ जिल्लाका एक हजार ५०५ जनाले सेवा लिएका जानकारी दिनुभयो । आठ सय ६३ को मुटुको इसिजी, ६०० जनाको इको गरिएको थियो । शल्यक्रिया गर्नुपर्ने ४९ बिरामी पहिचान भएका छन् । एक चालिस जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । चार बच्चा र अन्य १६ जनालाई सेभ द हार्टले काठमाडौँमा निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वमा काठमाडौँबाट आएका ४० चिकित्सक र बेनी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।

स्वास्थ्य परीक्षण र परामर्शका साथै निःशुल्क औषधि वितरणसम्बन्धी सेवा पनि दिइएको थियो । शिविरको समापनका क्रममा चिकित्सक भट्टराईले बालबालिकामा पनि मुटुरोगको समस्या देखिन थालेकाले सचेत रहनुपर्ने बताउनुभयो ।

सेभ द हार्टले देशव्यापीरूपमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । म्याग्दीसहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हालसम्म करिब ९६ हजार मुटुरोगीको परीक्षण गरिएको डा भट्टराईले बताउनुभयो । उहाँका अनुसार शिविरमा हालसम्म करिब एक हजार ३०० बिरामीको ओपनहार्ट सर्जरी गरिएको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन् ।

शिविरका संयोजक गौतमले हालैमात्र आफ्नो सानो छोराको मुटुसम्बन्धी रोगको डा भट्टराईकै टिमले सफल उपचार गरेकामा धन्यवाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।

शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले विसं २०७१ मा स्थापना भएको कोषले हालसम्म २४९ बिरामीको उपचारमा सघाएको जानकारी दिनुभयो । रु एक करोड तीन लाखको अक्षयकोष रहेको कोषले आफ्नो ब्याज र अभियानबाट हालसम्म रु दुई करोड ५३ लाख १९ हजार १२९ बिरामीको उपचार तथा विपद्को समयमा सहयोग गरेको शाक्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर