यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुरलाई उपाधि — OSNepal

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुरलाई उपाधि

LC (KTM) November 17, 2022 0

दोधारा चाँदनी-वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा आज भएको फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव चार ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र ४१ रन जोड्न सक्यो । डडेल्धुराका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले पाँच ओभरमा पाँच रन खर्चंँदै सर्वाधिक ह्याट्रिकसहित पाँच विकेट लिएर टिमलाई विजय दिलाउन सफल भए ।

बयालिस रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको कञ्चनपुरले आठ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै विजयी भयो । कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले २३ बलमा अविजित १९ रन बनाए । राहुल चन्दले १७ बलमा १२ रन बनाउन सफल भए । बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले चार दशमलव एक ओभरमा २५ रन खर्चंदा कृष्ण विष्टले पनि एक ओभरमा एक रन खर्चंदै समान एक÷एक विकेट लिन सफल भए ।

उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी धामीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो । त्यसैगरी डडेल्धुराका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री प्रतियोगिताको उत्कृष्ट बलरको अवार्डबाट सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर