कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो — OSNepal

कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो

LC (KTM) December 31, 2022 0

झापा, १६ पुस – कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड जानुभएको उहाँ घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुग्नुभएको थियो । शुक्रबार राति उहाँ बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताउनुभयो । बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरा सँग सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।

थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले जानकारी दिनुभयो ।पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड जानुभएको थियो । उहाँ केही दिनमै नेपाल फर्किने तयारी थियो ।

यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो । आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उहाँले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिनुभएको थियो । परिवारले उहाँलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उहाँका भाइ निश्चल पाण्डेले बताउनुभयो ।

घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताउनुभयो । घटना भएका बेला मृतकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा हुनुहुन्थ्यो भने आमा र कान्छो भाइ काठमाडौँस्थित निवासमा हुनुहुनथ्यो ।

“बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।”कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उहाँले बताउनुभयो ।

शोकाकुल बन्यो विर्तामोड-युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापामा रहेका मृतकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौँ जानुभएको छ । काठमाडौँमा मृतककी आमा र अरू भाइहरु रहेका छन् ।

झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गर्नुभयो । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हामफाल्नु प¥यो,” उहाँले भन्नुभयो, “बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।”

सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताउनुभयो । मृतक सङ्गीतकार थापाका छिमेकी हुनुहुन्थ्यो । “सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ,” थापाले भन्नुभयो, “भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर