एकादशीका दिन बिहानैदेखि चाँगुनारायणमा भक्तजनको घुइँचो — OSNepal

एकादशीका दिन बिहानैदेखि चाँगुनारायणमा भक्तजनको घुइँचो

LC (KTM) November 23, 2023 0

भक्तपुर, ७ मङ्सिर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् ।

मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

सहज रुपमा दर्शन र पूजा गर्ने व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायणका गोकर्ण पुरीले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ ।

असाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवाण विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजाअर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ ।

“हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने गरिन्छ”, उनले भने, “आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ ।”

त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न व्रतालुको भीड लागेको गोकर्ण पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर