एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी — OSNepal

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी

LC (KTM) January 05, 2024 0

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बन्नुभएका परिवारद्वारा सञ्चालित समूहका संस्थापक गौतम अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उहाँको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस साता अडानीको कूल सम्पत्ति करिब सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उहाँको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवैजना अहिले विश्वको १२औँ र १३औँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस साता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

“सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जीत भएको देखाएको छ”, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।”

अल्पकालीन बिक्रेता घर हिन्डनबर्गले कर्पोरेट गलत कामहरूलाई मात्र नहेरी घट्दो सेयरमा बाजी लगाएर पैसा पनि कमाउँछ । अडानीले गत वर्ष आफ्नो प्रतिवेदनमा ठगीका आरोपहरूलाई अस्वीकार गर्नुभएको थियो । उहाँले अल्पकालीन बिक्रेताहरूको फाइदाका लागि आफ्नो समूहको छविलाई बिगार्ने ‘जानीजानी गरिएको प्रयास’ भन्नुभएको थियो ।

प्रतिवेदनअघि अडानी समूहको सयेर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो ।

समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उहाँहरूबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर