शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ — OSNepal

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ

LC (KTM) April 16, 2024 0

काठमाडौँ- शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो । मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक तालिममा सहभागी छन् । विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसक्नुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर