मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै — OSNepal

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

LC (KTM) April 16, 2024 0

जनकपुर, ४ वैशाखः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेको विश्वासको मत हो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर