कोरोनाको नक्कली खोप भेटिएपछि डब्ल्यूएचओले दियो यस्तो चेतावनी — OSNepal

कोरोनाको नक्कली खोप भेटिएपछि डब्ल्यूएचओले दियो यस्तो चेतावनी

LC (KTM) August 19, 2021 0

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ । ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । ९सांकेतिक तस्बिर ०

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । डब्ल्यूएचओले नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएको छ । सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ । भारत सरकारले यसबारे औपचारिक धारणा राखेको छैन । तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ ।

‘हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,’ मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ । कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ ।

सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो ।

तर एप्रिल र मेमा भारतमा खतरनाक कोभिड महामारी फैलिएपछि यसको निर्यातलाई भारत सरकारले रोकेको थियो जुन अहिलेसम्म कायम छ । सेरमले पनि प्राथमिकतामा भारत रहेको भन्दै यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने बताएको छ । नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ ।

कोभिडबाट सबैभन्दा प्रभावित दोस्रो देश भारतले यो वर्षको अन्त्यसम्म सबै योग्य नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । तर ज्यानुअरीदेखि अहिलेसम्म त्यहाँ १३ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रा खोप पाएका छन् ।

भारतमा हाल तीन लाख ६७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् र अहिलेसम्म चार लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बुधवार भारतमा थप ३५,१७८ जनामा सङ्क्रमण पुष्टि भयो भने ४४० जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म तीन करोड २२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् । बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर