चार दिनदेखि हराएका बालक फेला परेपछि प्रधानमन्त्री खुसी, हेलिकप्टरद्वार उद्धार — OSNepal

चार दिनदेखि हराएका बालक फेला परेपछि प्रधानमन्त्री खुसी, हेलिकप्टरद्वार उद्धार

LC (KTM) September 07, 2021 0

काठमाडौं, २२ भदौ- अस्ट्रेलियामा एक तीन वर्षीय बालक हराएको चार दिनपछि फेला परेका छन् । न्यु साउद वेल्समा झाडीमा हराएका उनी चार दिनपछि सकुशल फेला परेका हुन् ।

एन्थोनी एजे एलफालकलाई सोमबार प्रहरीको उद्धार हेलिकप्टरले फेला पारेको थियो । उद्धारकर्ताले उनलाई घरबाट पाँच सय मिटर टाढाको एउटा खोलाको किनारामा पानी पिउँदै गरेको अवस्थामा फेला पारेका थिए ।

प्रधानमन्त्री स्कट मोरिसनले बालक फेला परेपछि आफूले शान्तिको श्वास फेरेको बताएका छन् ।अटिजमका बिरामी उनी बोल्न सक्दैनथे । हराउनुअघि उनी पछिल्लोपटक शुक्रबार देखिएका थिए । बालक अपहृत भएको हुन सक्ने परिवारले अनुमान गरेको थियो ।

तल्लो खुट्टा केही कोतरिएको तथा लुगा केही चिसो देखिएको बाहेक उनको अवस्था सामान्य थियो । उनका बाबु एन्थोनी एलफालकले बालक फेला परेको घटनालाई ‘चमत्कार’ भनेका छन् ।

बालक खोजीका लागि एक सय प्रहरी अधिकारी र स्वयंमसेवक खटिएका थिए । उनी फेला परेको स्थानमा यसअघि उद्धारकर्ता पुगेका भए पनि बालकलाई देखेका थिएनन् । न्यु साउद वेल्स प्रहरीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा एकजना प्रहरीले ‘मैले बालकलाई फेला पारेँ’ भनेको सुनिन्छ ।

‘उनलाई कमिलाले टोकेको रहेछ, जे होस् जीवितै फेला परेकोमा खुसी छु,’ छोरा फेला परेपछि दंग परेका उनका बुबाले भने । ती बालक त्यहाँ कसरी पुगे भन्नेबारेमा अभिभावक पनि प्रस्ट नभएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर